Sunday, March 6, 2011

किसुनजीलाई सम्झिंदै चलचित्रकर्मी

AbroadNepali, Mar.22,2011...सन्त नेताका रुपमा परिचित नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले यतिबेला चलचित्रक्षेत्र पनि शोकाकुल भएको छ । नेपाली राजनीति र कला क्षेत्रमा स्वर्गिय भट्टराईले पुर्‍याएको योगदानका बारेमा चलचित्र उधोगमा चर्चा चल्न थालेको छ । भर्खरैमात्र स्थापना भएको काँग्रेस समर्थित संस्था लोकतान्त्रिक चलचित्रकर्मी संघका संयोजक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक नरेश पौड्यालले कृष्णप्रसाद भट्टराई नेपाली कला र संस्कृतिका बारेमा सधैं चिन्तित रहने नेता भएको बताएका छन् । उनले भने, 'नेपाली चलचित्र उद्योग र चलचित्रकर्मी बारेमा चासो राख्ने नेताका रूपमा हामी उहाँलाई स्मरण गरिरहन्छौं ।'
यसैगरी नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले प्रजातन्त्रको पहरेदारका रूपमा परिचित भट्टराईले नेपाली कलाकार क्षेत्रमा विशेष योगदान नपुर्‍याए पनि नेपाली कलाकार र कला क्षेत्रलाई माया गर्ने नेताका रूपमा चिनिने बताए ।

आदिवासी जनजाति चलचित्रकर्मी संघका अध्यक्ष युवराज लामाले राम्रो कामका लागि सधैं अडान लिइरहने नेताको रूपमा भट्टराईको नाम अग्रपंक्तीमा आउने बताए । कलाकारसँग भेटेर रमाईला गफ गर्न उहाँको रूचि रहेको लामाले बताए । त्यस्तै नेपाल चलचित्र निर्माता संघका सचिव तथा लोकतान्त्रिक चलचित्रकर्मी संघका सदस्य सुरेश दर्पण पोखरेलले लोकतान्त्रिक अन्दोलनका अगुवा नेता भट्टराई को मुक्तकण्ठाले प्रशंसा गरे । उनले भने, 'किसुन जी जस्तो त्यागी नेता अब यो देशले कहिल्यै पाउन सक्दैन होला ।'

नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले भट्टराईले केहि बर्ष अघि सबैभन्दा स्वच्छ मन भएका मानिस कलाकार नै भएको हो भनेको वाणी अझै पनि आफ्नो कानमा गुञ्जिरहेको बताए । विचार, आस्था र मान्छेको सम्पूर्ण स्वतन्त्रताको ज्योतिपुञ्ज रहेका कांग्रेस नेता भट्टराईलाई यि व्यक्ति मात्र हैन चलचित्र उधोगको सारा व्यक्ति र संघसंस्थाले स्मरण गरिरहेको छ । साँचो कुरा बोल्न नडराउने किसुनजीको जीवनबाट सिक्नुपर्ने कुरा धेरै रहेको अधिकांश चलचित्रकर्मीको भनाई छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर आइतबार बिहान आठ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राखिने भएको छ । उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न चलचित्रकर्मीहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपा र दशरथ रंगशाला पुग्ने भएका छन् ।

0 comments:

Post a Comment

Please Use the Appropriate Language While Commenting. Profanity Words are not Applicable. Thanks For Your Continue Support to Our Site.

 
Disclaimer: Please note, AbroadNepali is nepali entertainment collection website. All of the videos found here comes from 3rd party video hosting sites such as YouTube, DailyMotion, zSHARE, megavideo. We do not host any of the videos. Please contact to the appropriate video hosting site for any video removal.